झापा ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने बहानामा ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बेलायत, जापान, मलेशियालगायतका देशमा पठाउने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रौतहट बृन्दावन नगरपालिका–६ घर भइ काठमाडौं नागार्जुन नगरपालिका–४ बस्ने ३६ वर्षीय विजय साह, धनुषाको धनुषाधाम नगरपालिका–४ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने ३२ वर्षीया नेहा अधिकारी र धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ घर भइ ललितपुर महानगरपालिका–२ बस्ने ४७ वर्षीया विवाह घले रहेका छन् ।
पक्राउ परेकामध्ये विजयले मलेशिया पठाइदिने भन्दै एक जना पीडितबाट ८० हजार रुपैयाँ, नेहाले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट २४ लाख ५० हजार रुपैयाँ र विवाहले जापान पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि फरार रहेको अवस्थामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले विजयलाई काठमाडौं महानगरपालिका–२६ र नेहालाई ललितपुर महानगरपालिका–१७ बाट सोमबार तथा विवाहलाई ललितपुर महानगरपालिका–१ बाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।