बिर्तामोड । 

निर्माण व्यवसायी संघ झापाको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । संघको सभाहलमा सोमबार आयोजित पद हरुतान्तरण समारोहका बीच नवनिर्वाचित कार्यसमितिले पदभार सम्हालेको हो । संघका अध्यक्ष मिलन वस्नेतले नवनिर्वाचित अध्यक्ष रमेश अधिकारीलाई पद हस्तान्तरण गरे । 

संघका अध्यक्ष वस्नेतकै अध्यक्षता तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष मोहनप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा आयोजित समारोहमा निर्वाचन समितिका संयोजक गोपालबहादुर थापाले नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउँदै प्रमाणपत्र हस्तान्तरण गरेपछि नवनिर्वाचित अध्यक्ष अधिकारीले समारोहको अध्यक्षता गरेका थिए ।

समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारी, प्रथम उपाध्यक्ष केदार गिरी, द्वितीय उपाध्यक्ष राजकुमार राई, तृतीय उपाध्यक्ष नयन बराल, महासचिव पुष्पराज निरौला, सचिव लोकेन्द्र श्रेष्ठ, कोषाध्यक्ष यज्ञनिधि भुर्तेल, सह–कोषाध्यक्ष सुरेन्द्र धिमाल तथा सदस्यहरु प्रविण कटुवाल, विवेक जवेगु, गंगाप्रसाद गौतम, मनोजप्रसाद उप्रेती, दिनेश मैनाली, ज्ञानबहादुर तामाङ, डालिम खड्का, आशिष वान्तवा, उद्धप कुँवर, भरत भट्टराई र महिला सदस्य कमला थाम्सुहाङलाई सपथ गराइएको थियो ।

महासचिव पुष्पराज निरौलाले सञ्चालन गरेको समारोहमा नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता मन्तव्य राखेका थिए । गत पुस २१ र २२ गते सम्पन्न १६ औं साधारणसभा तथा अधिववेशनले अधिकांश पदाधिकारी सर्वसम्मत चयन गरे पनि अध्यक्ष, सह–कोषध्यक्ष र सदस्यमा निर्वाचन भएको थियो ।