झापा ।
झापाको मेचीनगर–१३ स्थित चारआली चोकबाट भारतबाट नेपालतर्फ मदिरा लिएर आउँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार साँझ ६ः३० बजेको समयमा मोरङ सुन्दर हरैचा नगरपालिका–८ का ४० बर्षिय शंकरप्रसाद प्रसाईलाई मदिरासहित नियन्त्रण गरिएको हो ।
उनलाई मेचीनगर–१३ चारआली चोकमा बिभिन्न सवारी साधान चेकजाँच गर्दा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइदै गरेका मदिराजन्य सामाग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर लुकाई छिपाई ल्याउदै गरेको Old Monk लेखिएको १६८ पिस १ लाख ६८ हजार र SIKKIM २००० लेखिएको ७२ पिस ७२ हजार मूल्य बराबरको गरी जम्मा २ लाख ४० हजार मूल्य बराबरको मदिरा सहित प्रसाईलाई पक्राउ गरेको छ । प्रसाईलाई मदिरासहितनियन्त्रणमा लिएर सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी मेचीनगर–६ बाट शुक्रवार साँझ ८ः३० बजे हनुमान मन्दिर ल्याइदै गरेका बिभिन्न सामान पनि नियन्त्रण गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले लुकाई छिपाई ल्याउदैं गरेको एक लाख २ हजार ५०० रुपैयाँको सामाग्री नियन्त्रण गरेको छ ।
प्रहरीले सो मूल्य बराबरको चिनी ३०० के.जी., दाल ४० के.जी., चना ६० के.जी., लसुन ७० के.जी., बिस्कुट १५ के.जी., चुईगम ६ वट्टा, भुटेको मटर १५ के.जी., पास्ता ५ के.जी., पानी पुरी १० के.जी., सलाई २ बण्डल, खुर्सानी २ के.जी., लेज ३ के.जी. बेवारिसे अवस्थामा बरामद गरेको जनाएको छ ।
नियन्त्रण गरिएका सवै सामाग्री मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मदिरासहित अन्य सामाग्री गरेर जम्मा ३ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।