झापा ।
झापाको शिवसताक्षी–१, धरमपुरमा आज (बुधवार) बिहान ६ः२० बजेको समयमा भएको सवारी दुर्घटनामा ११ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक बस अचानक अनियन्त्रित भई पल्टिदा बसमा सवार उनीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा मोरङ बिराटनगर महानगरपालिका–३ का ५४ बर्षिय गुणा कोईराला, सोही स्थानका ३४ बर्षिया दपा निरौला, १७ बर्षिया म्यारी निरौला, ३८ बर्षिया निर्मला निरौला, ५९ बर्षिया शर्मिला कोईराला, झापा शिवसताक्षी–८ का झिलझिलेका ३२ बर्षिय टंक शिवाकोटी, सोही स्थानकि ३० बर्षिया आन्सा फ्यादेन,
२१ बर्षिया सुमना लिम्बु , बिर्तामोड–६ का ५१ बर्षिय पुस्पलाल अधिकारी, सोही स्थानका ४९ बर्षिया चन्द्रकला अधिकारी र कमल–६ का ४० बर्षिय शान्तिराम खतिवडा रहेका छन् ।
घाइते उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड तर्फ पठाइएको छ भने उक्त बसका चालक मेचीनगर–१० धुलाबारीका ५४ बर्षिया टिका मेचे इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । बाटो अवरोध नभएको र बस दुर्घट्ना स्थलमा नै रहेको र कार्यालय तर्फ ल्याउने पहल भईरहेको बुझिएको छ ।