झापा । 

पूर्वी तराईका राजवंशी, ताजपुरिया, गनगाईलगायतका आदिवासी समुदायको मौलिक परिकार भाक्कालाई प्रवद्र्धन गर्नका लागि शुरु गरिएको भाक्का दिवस आज विविध कार्यक्रम गरी मनाइदै छ । उक्त समुदायहरुले मनाउँदै आएका लोकप्रिय पर्व ‘राष्ट्रिय भक्का दिवस’ आज (सोमवार) झापाका बिभिन्न पालिकामा बिविध कार्यक्रम गरी  मनाइदैछ ।

झापाको भद्रपुर, बिर्तामोड, अर्जुनधारालगायका स्थानमा हिजो र आज बिभिन्न कार्यक्रमसहित भाक्का दिवस मनाउन लागिएको छ । आइतवार भद्रपुरमा भाक्का पीठ उत्सव मनाइएको थियो । उत्सवमा सयौं सहभागीले भाक्का, पीठ, पेल्का, फोद्गो, सुकाती, खारी, सिदललगायतका मौलिक परिकारहरुको स्वाद लिएका थिए ।

झापासहित राजवंशी, ताजपुरिया, गनगाईलगायत समुदायको बाहुल्यता रहेका तराईका बिभिन्न स्थानमा आज बिभिन्न सांस्कृति कार्यक्रमसहित भाक्का दिवस मनाउने  गरिन्छ । भाक्का दिवसका अवसरमा अधिंकाश पालिकाहरुले स्थानीय बिदासमेत दिने गरेका छन् । 

आज आठौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइदै छ ।  कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउदै आएका छन् । चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो । 

चामल र कनिकाको पिठोलाई पानीको बाफमा पकाएर भाक्का बनाउने गरिन्छ । पिठोमा कुनै मिसावट नहुने हुँदा यसलाई स्वस्थकर परिकारको रुपमा लिइन्छ । पूर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाडौं लगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ । फाइनल तस्वीर