बुट्टाबारी ।   

बन्दी सहायता नेपालद्वारा संचालित बालगृहका बालबालिकाहरुलाई दुबईबाट बफ एण्ड स्टुडेन्ट फ्रेन्डले विभिन्न सामग्री एक समारोह बिच बितरण गरेको छ । 

विभिन्न कारागारमा कैद भुक्तान गरि रहेका अभिभावकहरुसँग आस्रित बालबालिकाहरु आवाससहित शिक्षा आर्जन गरिरहेका बालबालिकालाई सामाग्री बितरण गरिएको हो । 

अर्जुनधारा नगरपालिका ११ मा रहेको मनमाया, गङ्गा आमा र जगल गार्डेन ब्वाइज होममा रहेका ३० जना बालबालिकाहरुलाई दुबईका विभिन्न बिद्यालयमा  अध्ययनरत विद्यार्थीहरुले संकलन गरि पठाएको अंग्रेज़ी नयाँ बर्ष २०२५ एवम् कृसमसको शुभ अवसरमा सो सामाग्री प्रदान गरिएको छ । 

बालगृहका बालबालिकाहरुलाइ साथी बनाउदै कपडा, स्टेशनरी, खेलौनालगायत प्रति बालक तीन हजार बराबरको प्याकिङ्ग उपहार प्रदान गरिएको छ। 

त्यसैगरि सस्थाले सञ्चालन गरेको काठमाडौ, पाल्पा, साखु, सप्तरीमा रहेको बालगृहमा रहेको २०० भन्दा बढी बालबालिकाहरुलाइ बितरण गरिएको सस्थाका कार्यक्रम प्रमुख हरि कार्कीले बताए। 

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकि उप–सभामुख इन्दिरा राना मगरले बालबालिकाको सम्पूर्ण चाहाना अभिभावक एवम् सस्थाले पूरा गर्न नसकिरहेको अवस्थामा  बालबालिकाहरुको चाहना पूरा गरि बालबालिकाको अनुहारमा खुसी ल्याउने दाता शिक्षासेवि बफ एन्ड स्टुडेन्ट दुबईलाई धन्यवाद एवम्  हार्दिक शुभकामना व्यक्त गरेका थिए । साथै उपहार प्राप्त गर्ने बालिका समिक्षा भुजेलले आफुले उपहार पाएकोमा खुसी व्यक्त गरेकी थिइन् । 

कार्यक्रममा स्वागत कोषाध्यक्ष अम्बिका गुरुङले, कार्यक्रमको अध्यक्षता पूर्वान्चल शाखाका अध्यक्ष जगतबहादुर मगरले र कार्यक्रमको सहजीकरण सचिब रन्जित परियारले गरेका थिए ।