झापा । 

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारलाई देशगत समूहमा अभिमुखीकरण तालिम गराउन निर्देशन दिएको छ । बिभागले आगामी १ माघदेखि देशगत समूहमा अभिमुखीकरण तालिम गराउन दिएको हो । 

गत ३ पुसदेखि लागू गरेको फेसटाइम एटेन्डेन्स वा आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रिकग्निसन सिस्टमले सजिलोसँग काम गरेपछि देशगत क्लस्टर लागू गर्न लागेको हो ।

आइरिस सिस्टम लागू भएसँगै बैदेशिक रोजगारीमा जाने व्यक्ति अनिवार्य रूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम कक्षामा उपस्थित हुने गरेका छन् । विभागका निर्देशक लोकनाथ भुसालले विज्ञप्तिमार्फत देशगत क्लस्टर लागू गर्ने सम्बन्धमा २ बुँदे निर्देशन जारी गरेका छन् ।

विज्ञप्ति अनुसार यसअघि क्लस्टर तालिम सञ्चालन अनुमतिप्राप्त संस्थाले १ माघदेखि तोकिएको क्लस्टरअनुसारको तालिम संचालन गर्ने, देशगत क्लस्टर संचालन अनुमतिका लागि निवेदन नदिएका वा निवेदन दिए पनि छनोट नभएका संस्थाले २८ पुसभित्र आफूले संचालन गर्ने देशगत क्लस्टर समूह, पूर्वाधार र प्रशिक्षकहरूको योग्यता खुलाए निवेदन दिएर छनोट भएपछि १ माघदेखि नै देशगत तालिम संचालन गर्नुपर्ने विभागको भनाइ छ ।

देशगत क्लस्टर तालिम सञ्चालन अनुमति पाएका संस्थाले एकभन्दा बढी क्लस्टरमा तालिम सञ्चालन गर्न वा तोकिएको क्लस्टर परिवर्तन गर्न चाहेको अवस्थामा आफूले सञ्चालन गर्न चाहेको पूर्वाधार र प्रशिक्षकको योग्यता खुलाई कम्तीमा ७ दिन अगाडि नै निवेदन दिनुपर्ने प्रावधान तोकेको छ ।

विभागले हाललाई खाडी मुलुक, मलेसिया, जापान, दक्षिण कोरिया युरोप र अन्य गरी ६ वटा क्लस्टर तोकेको छ । अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतामले देशगत क्लस्टर तोकिएपछि अभिमुखीकरण तालिमका लागि संस्था खोज्दै हिँड्नुपर्ने कामदारको बाध्यता हटी सरलीकरण भएको टिप्पणी गरे ।

यसैबीच विभागले आइरिस रिकग्निसन सिस्टम लागू भएपछि केही संस्थाले बढी रकम लिएको गुनासो आएको भन्दै विभागले बढी शुल्क लिएको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । व्यवसायीहरूले लागत बढेकाले तालिमको शुल्क पनि सोहीअनुसार बढाउनुपर्ने धेरै अगाडिदेखि माग गर्दै आएका छन् ।