झापा ।
पूर्वी नांका काँकरभिट्टाबाट दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ । झापा मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित पुरानो मेचीपुल सडकबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार राति ८ः३० बजेको समयमा भारतको पानीट्याङ्कीबाट भाडाको सिटिसफारीमा काँकरभिट्टातर्फ आईरहेका उनीहरुलाई लागू औषध नियन्त्रण व्यूरो काँकडभिट्टा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रविका ३१ बर्षिय दिलप्रसाद राई सोही गाउँपालिका–५ घर भई हाल झापाको दमक नगरपालिका–२ हिमालय टोलमा डेरा गरी बस्ने २९ बर्षिया स्मारिका नेम्बाङ छन् ।
उनीहरुको झोलामा रहेको पतन्जली दुध लेखिएको विष्कुटको प्याकेट भित्र लागू औषध (खैरो हेरोइन) जस्तो देखिने लिसाईलो पदार्थलाई फेला परेको प्रहरीले जनाएको छ ।
उक्त पदार्थ नापतौल गर्दा प्लाष्टिक बाहेक ४ ग्राम लागुऔषध फेला परेको प्रहरीको भनाई छ । सोधपुछ गर्दा भारतको पानीट्याङ्कीबाट खरिद गरी ल्याएको भनि बताएकोले दुवै जनालाई लागूऔषध सहित नियन्त्रण गरी आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो बिषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।