झापा । 

मलेसियाले अवैधानिक अवस्थामा रहेका विदेशी कामदारविरुद्ध धरपकड गर्न शुरु गरेको छ । ३ जनवरी मध्यरातदेखि शुरु गरिएको धरपकडमा हालसम्म ४ जना नेपाली पनि पक्राउ परेका मलेसियाका संचार माध्यमहरूले जनाएका छन् ।

पूर्वी मलेसियाको जोहरबारु क्षेत्रका बाटु पहाट, मेर्सिङ, मुआर र सेगामाटमा एकैसाथ गरिएको कारबाहीमा अवैधानिक रूपमा बसेका ४६ जना विदेशी कामदार पक्राउ परेका थिए । जोहोर अध्यागमन विभागका निर्देशक दातुक मोहम्मद रुस्दी दारुसले अवैधानिक विदेशी कामदारविरुद्धको अपरेसनमा जोहरका ४ जिल्लाका प्रवर्तन अधिकारीहरू संलग्न रहेका बताए ।

पक्राउ पर्नेमा भारतीय, म्यानमार, थाइल्यान्ड, बंगलादेशी, इन्डोनेसियाली, पाकिस्तानी पुरुषहरू र केही महिला पनि रहेका अध्यागमन अधिकारीहरूले बताएका छन् । विदेशी कामदारहरूले अध्यागमन ऐन तथा नियमावलीअन्तर्गतका अपराध गरेका दाबी गरिएको छ ।अवैध विदेशी कामदारहरूलाई अनुसन्धान र थप कारबाहीका लागि पेकान नानस अध्यागमन डिपोमा पठाइएको बताइएको छ ।

धरपकड अभियानमा पक्राउ परेका विदेशीलाई मलेसियाले निश्चित रकम जरिमाना तिराएर ५ वर्षसम्म कुनै पनि कामका लागि आफ्नो मुलुक प्रवेश नपाउने गरी कालो सूचीमा राखेर सम्बन्धित कामदारको नागरिकता भएको देशमा डिपोर्ट गर्ने वा वैधानिकता दिएर रोजगरीमा लगाउने गरेको छ ।

मलेसियाले रिक्यालिब्रेसन २.० कार्यक्रमअन्तर्गत हालसम्म ११ लाख विदेशी कामदारले अनलाइन दर्ता गरेका बताइएको छ । त्यसमध्ये ५ लाख १८ हजार वैधानिक कागजात बिना बसेका आप्रवासी कामदारहरूलाई उत्पादन, निर्माण, खेती, कृषि र सेवा क्षेत्रहरूमा नयाँ वर्क पर्मिट जारी गरिएको बताइएको छ ।