झापा । 

बैदेशिक रोजगारका लागि इजरायल जान छनोट भएका कामदारहरुको आज (बुधवार) बाट स्वास्थ्य परीक्षण शुरु हुँदैछ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जान छनोट भएका नेपाली सहायक कामदारको स्वास्थ्य परीक्षणका लागि पाँच वटा हस्टिल तोकेको थियो ।

  स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामंगलसहित ५ वटा अस्पताल तोकेको छ ।

वैदेशिक रोजगार विभागले १७ देखि २३ पुससम्म स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको छ । स्वास्थ्य परीक्षणका लागि कामदारले १२ हजार रुपैयाँ हाराहारीमा शुल्क बुझाउनुपर्ने छ । नेपालले गत ९ कात्तिकमा नेपाली कामदार इजरायलमा नपठाउने निर्णय गरेको थियो ।  इजरायलले नेपालबाट २ हजार केयर गिभर लैजान लागेको छ ।

तर, इजरायलमा लडाइँ चर्केपछि छनोट भएकाहरू लामो समयदेखि उडानको प्रतीक्षामा छन् । इजरायल जान केयर गिभरका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन् । त्यसमा १ हजार १५६ महिला र ९५६ पुरुष छन् । तीमध्ये पहिलो चरणमा १ हजार जना र बाँकी दोस्रो चरणमा लैजाने बताइएको छ ।

 इजरायलमा हमास लडाकुको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र अपहरणमा परेका विपीन जोशीको अवस्था अझैसम्म अज्ञात रहँदा नेपालीको मनमा रहेको त्रास भने हटीनसकेको छनोटमा परेका कतिपय युवाहरूको भनाइ छ । केयर गिभरमा तलब सुविधा भने अत्यन्तै आकर्षक मानिएको छ ।

५ वर्षसम्मको करार अवधि र मासिक २ लाख २० हजार रुपैयाँ बराबरको तलब भएकाले नेपाल प्रहरी र सेनाका मात्र नभएर लोकसेवा पास गरेर सरकारी सेवामा भर्ना भएका केही कर्मचारीले पनि इजरायल जान आवेदन दिएका बताइएको छ ।