बिर्तामोड । 

झापाको बिर्तामोडमा आज (मंगलबार) बिहानै आगलागी भएको छ । आगलागीमा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।बिर्तामोड–७ मियाबाडीमा आज बिहानै लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो ।

बिहान अन्दाजी ४ः४० बजेतिर मिलमा विद्युत सर्ट भएर सो आगलागी भएको थियो  । आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ । साथै मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।

बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६ः५२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कार्यालयले जनाएको छ । आगलागीबाट अन्दाजी २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।