झापा ।
आज कोशीसहितका छ वटा प्रदेशमा बर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतयादेखि पूर्णतया बदली रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
आज रातिदेखि मौसम क्रमशः सुधार हुँदै जानेछ । आज पनि मधेस बाहेक अन्य ६ प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ ।