हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका भौतिक निर्माण विकास कार्यमा अब्बल बन्दै गएको पाइएको छ । पालिकाले भौतिक निर्माण विकास कार्यलाई तिव्रता दिदै आएको पाइएको हो । पालिका भित्र हालसम्म ३३ किलो मिटर सडक कालोपत्रे गरेको छ  भने तीन वटा पुलको काम ७० प्रतिशत सम्पन्न गरेको छ । 

पालिकाले एक सय वढी काठे तथा बाँसे पुललाई बिस्तापित गरेर पक्की पुल तथा कल्भर्ट निर्माण गरिरहेको पालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले बताए । अध्यक्ष लिङ्देनका अनुसार चालु आर्थिक बर्षमा भुतेनी खोलामा एउटा र भुसुडी खोलामा दुई वटा पक्की पुल निर्माण कार्य बहुवर्षेयीय योजनाका रुपमा भइरहेको छ । 

haldibari bhautik

यसैगरी पशु अस्पताल निर्माण गरी सेवा शुरु, सबै वडा तथा गाउँपालिका भवन निर्माण गरी आफ्नै भवनबाट सेवा सुचारु, मुख्य बजारमा टहरा निर्माण गरी बजार व्यवस्थापन, १०० किलो मिटर भन्दा बढी खानेपानी पाईप विस्तार गरी पालिका भरि निःशुल्क खानेपानी उपलब्ध गराएको, २१ वटा पक्की भवन निर्माण गरी विपन्न नागरिकलाई निःशुल्क खानेपानी जडान गरी सुरक्षित आवासको व्यवस्था गरिएको छ । साथै उक्त परिवार सदस्यलाई निःशुल्क स्वास्थ्य विमा समेत गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिए । त्यस्तै पालिकाको गौरवको योजना अन्तर्गत शहिद स्मृति लोकतान्त्रिक भेलागुढी पार्क निर्माण भइरहेको समेत उनले बताए ।

भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण कार्य बहुवर्षेयीय योजनाका रुपमा रहेको र अनुमानित ५ करोड ३९ लाख ३८ हजार ९३९ रुपैयाँ ७९ पैसामा सारा सृष्टि निर्माण सेवा प्रालि कम्पनीसँग ४ करोड ४७ लाख ९४ हजार ८७८ रुपैयाँ ४४ पैसामा सम्झौता गरिएको हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र) ले बताए । उनका अनुसार ७० प्रतिशत कार्य सम्पन्न भइसकेको र यसै आर्थिक बर्षमा निर्माण कार्य सम्पन्न हुनेछ । 

भुतेनी खोलामा एउटा र भुसुडी खोलामा दुई वटा पुल निर्माण भएको हो । भुतेनी खोलाको पुलको लम्बाई ४२.७ मिटर र भुसुडी खोलाका दुवै पुलको लम्बाई २६.८ मिटर रहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए । 

त्यस्तै धनुषापोखरीदेखी धाधरपाडासम्म अर्थात पालिकाको कार्यालय जाने सडक कालोपत्रे निर्माण कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले जानकारी दिए । अनुमानीत करिव १ करोड ९७ लाखमा ठेक्का लागेको उक्त कालोपत्रे करिव १ करोड २२ लाखमा सम्झौता भएको बताइएको छ । सो कालोपत्रेको ३० प्रतिशत कार्य भइसकेको यसै आर्थिक बर्षमा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले बताए । 

पालिकामा १५ सैयाको आधारभूत अस्पताल निर्माण कार्य भइरहेको र ४० प्रतिशत कार्य सम्पन्न भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत महेन्द्रले भने ‘हाल अस्थायी रुपमा गाउँपालिकामा अस्पताल सञ्चालन भइरहेको छ ।’ पशु अस्पताल निर्माण भएर सेवा शुरु भइसकेको बताउँदै भेलागुढी चिल्ड्रेन पार्क निर्माण कार्य भइरहेको उनले बताए । 

यसैगरी चालु आर्थिक बर्ष ०८१÷०८२ मा भौतिक पूर्वाधार अन्तर्गत दुई तिहाई  रकमको योजनाको इ– बिल्डिङ मार्फत ठेक्का आव्हान भई ठेक्का बन्दोबस्तको प्रकृयामा रहेको उनले बताए । मुख्य योजनाहरुमा गोलधाप बजारबाट धनुषा स्कूलसम्म कालोपत्रे, काजली चोकबाट पिपल चोकसम्म कालोपत्रे, उत्कृष्ट सहकारीबाट लाटी होलीसम्म सडक कालोपत्रे, पाइपलाइन विस्तार अन्तर्गत पाइप र फिटिङ्ग खरिद गरिएको पालिकाले जनाएको छ । 

पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले हल्दीबारी गाउँपालिकामा अन्य पालिकाको जस्तो उपभोक्ता समिति मार्फत विकास योजनाका काम नहुने बताएका छन् । उनले पालिकामा ठेक्का प्रक्रिायबाट काम गरिने र पालिकाले नै अनुगमन गर्ने गरिएको बताउँदै अन्य पालिकाहरुको जस्तो असार मसान्तमा भीड नलाग्ने बताए । साथै उनले विकास योजना पालिकाबाटै हुने र अनुगमन पनि पालिकाबाटै हुने भएकाले  भष्ट्राचार हुने सम्भावना नरहेको बताएका छन् ।