- सुदिप गिरी
हल्दीबारी ।
झापाको हल्दीबारी गाउँपालिका–२ मा प्रमुख पर्यटकिय स्थलको रूपमा रहेको भेलागढी सहिद स्मृति लोकतान्त्रिक पार्कमा दोस्रो भेलागढी महोत्सव आज (बिहीवार) बाट शुरु भएको छ । आजबाट शुरु भएको महोत्सव आगामी पुस २१ गतेसम्म आयोजना हुने आयोजक संस्थाका सचिव खकेन राजवंशीले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उदेश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले गरेका छन् । भेलागढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पुण्यप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ठ अतिथिहरू कोशी प्रदेश पूर्वाधार बिकास राज्यमन्त्री भुमिप्रसाद राजबंशी, कोशी प्रदेशसभा सदस्य छबिलाल चुडाल, हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र ), उधोग वाणिज्य संघ कोशी प्रदेशका निमित्त अध्यक्ष टीकाराज ढकाल, हल्दीबारी वाणिज्य संघ महासचिव कृण्णप्रसाद प्रसाई, हल्ीदबारि–२ का वडाध्यक्ष सुकलाल राजबंशी, वडा सदस्यहरू बिष्णुबहादुर राई, अम्बिका तोलाङ्गी, रचना राई, गणेश मगर लगायतको आतिथ्यता रहेको थियो ।
हल्दिबारी–४ का पूर्व वडाध्यक्ष तथा समाजसेबी होम चुडाल लगायतको आतिथ्यता रहेको कार्यक्रममा अतिथिहरूले सो क्षेत्रको स्थलगत अवलोकन, बिकास र सम्भावनाको बिषयमा चासो समेत राखेका छन् ।
महोत्सवमा नेपालका चिरपरिचित कलाकारहरुको सांगितिक प्रस्तुती रहने र महोत्सवमा बिभिन्न आकर्षक स्टल र प्रदर्शनी देख्न पाइने आयोजक समितिले जनाएको छ । स्थानीय परिकार भाक्का, घुगी, गंगटा, सिदल र माछाका परिकारलगायतका २० वढी प्रकारका स्टल रहने बताइएको छ । महोत्सवमा बिभिन्न झाँकीसहित सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । महोत्सवमा एकलाख वढी पर्यटक आउने आयोजकले अपेक्षा राखेको छ ।
नेपालका ख्यातिप्राप्त कलाकार प्रमोद खरेल, रचना रिमाल, समिक्षा अधिकारी, राजेश पायल राई, दुर्गेश थापा, एलिना चौहान, ज्योति मगर, श्री कृष्ण लुईटेल (बोकेदारी) लगायतको महोत्सवमा प्रस्तुति रहने छ । साथै मन्त्र ब्यान्डको समेत प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।
भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र स्थानीय हल्दीबारीबाट महोत्सव सफल पार्न र महोत्सवमा हाउजी खेलको पनि मनोरञ्जन समेत लिन सकिने आयोजक समितिले जनाएको छ । उद्घाटन कार्यक्रममा स्वागत आयोजक संस्थाकी उपाध्यक्ष भीमादेबी पराजुलीले गरेकी थिइन् भने सञ्चालन सचिव खकेन राजवंशीले गरेका थिए ।