झापा । 

 मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २२६ जनाको वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति भएको छ । गत वर्ष मंसिरमा ६२ हजार १४७ जना गएका थिए ।

गत वर्षको तुलनामा यस वर्ष मंसिरमा २० हजार बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । असोजको तुलनामा कात्तिक महिनामा केही कमी आए पनि मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेको छ ।

नेपालीका मुख्य चाडपर्व दसैं, तिहार र छठ जस्ता पर्व सकेर ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा हिँडेका हुन् । प्रमुख राजनीतिक दलहरूले स्थिरता, सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताए पनि श्रम गर्ने उमेर समूहका कम युवा–युवतीले त्यसमा विश्वास गरेका तथ्यांकले देखाएको छैन । चाडपर्वको महिना कात्तिकमा पनि करिब ५५ हजार नेपाली  वैदेशिक रोजगारीमा गएका थिए ।

युरोपेली मुलुकहरुमा पनि जानेको संख्यामा बृद्धि भएको छ । क्यानाडा, माल्दिभ्स, पोल्यान्ड र बेलायतमा व्यक्तिगत श्रम स्वीकृतिमा गए पनि म्यानपावर कम्पनीले ती मुलुकमा पठाउन श्रम स्वीकृति लिन सकेका छैनन् । म्यानपावर कम्पनीले १४ मुलुकमा पठाउँदा व्यक्तिगत श्रम स्वीकृतिमा ९१ मुलुकमा नेपाली कामदार पुगेका छन् ।