झापा ।
हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ । जसको प्रभावले हिमाली क्षेत्रमा आंशिक देखि साधरणतया बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
पहाडी क्षेत्रमा आंशिक देखि साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले मंगलबार देशका धेरै जसो स्थानमा प्रभाव पारेको थियो । पश्चिम न्यूनचापीय प्रणालीका कारण आकाशमा बादल टम्म लागे पनि वर्षा भने न्यून पर्यो ।
आजबाट मौसममा क्रमिक सुधार भए पनि शुक्रबार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु तथा कुहिरोको सम्भावना रहेका महाशाखाले जनाएको छ ।