झापा । 

झापाका छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी र लागू औषधसहित चार जना पक्राउ परेका छन् । झापाको दमक र मेचीनगर नगरपालिकाबाट शनिवार बिभिन्न समयमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

दमक–६ पशुहाट नजिकैबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–७ हाटखोला घर बताउने २० बर्षिय  नविन ठटाल भन्ने पदम बहादुर दर्जीलाई शनिवार ४ः३० बजे पक्राउ गरिएको छ ।

दर्जीलाई शंका लागेर चेक जाँच गर्दा उनले लगाएको हुडीको गोजीबाट प्रतिबन्धित औषधीहरु ट्रामाडोल–८३ क्याप्सुल र स्पासपेन–२८ ट्याब्लेट फेला परेको थियो । उक्त औषधीहरुसहित निजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान  भइरहेको छ । 

सोही समयमा इलाम माङ्सेबुङ गाँउपालिका–४ माचेबुङ स्थायी वतन भई हाल दमक–२ बस्ने अन्दाजी २४ बर्षिय रोदन लिम्बुलाई प्रतिबन्धित लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ । 

गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई चेकजाँच गर्दा उनको साथबाट खैरो हेरोईन १ ग्राम १०० मिलिग्राम फेला परेको थियो । उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

 यसैगरी शनिवार राति ८ बजेको समयमा मेचीनगर–६ कालिखोला सरस्वती टोलका ४१ बर्षिय रुपेश पाख्रिनले आफ्नै घरमा लागू औषध खैरो हेरोईन बिक्री गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीसहित दुई जनालाई पक्राउ गरेको छ । 

उक्त स्थानमा गएर प्रहरीले रुपेश पाख्रिनलाई चेकजाँच गर्दा लुकाई छिपाई राखेको खैरो हेरोईन प्लाष्टिक बाहेक २ ग्राम फेला परेको थियो ।  उक्त लागूऔषध खरिद गर्न आएका उनका साथी सोी स्थानका ३२ बर्षिय  डिकबहादुर मगरलाई समेत नियन्त्रणमा लिएको हो । नियन्त्रण गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।