- वीरु दर्नाल
बिर्तामोड।
झापाको बुद्धशान्ति गाउँपालिकाबाट २० दिन अघि वेपत्ता भएका दुई किशोरीहरु अझै फेला नपरेको परिवारले बताएका छन् । घरबाटै हराएका ती किशोरीहरु अहिलेसम्म परिवारको सम्पर्कमा नआएका हुन् ।
बुद्धशान्ति–२ की ७ कक्षामा पढ्ने १३ वर्षिया कामना रणपहेंली र सोही पालिका वडा नं– १ की कक्षा ८ मा पढ्ने वर्ष १४ की गृष्मा नेपाली बेपत्ता भएका थिए ।
कामनाका बुबा सनमान रणपहेँली र गृष्माका आमा संगीता नेपालीका अनुसार उनीहरुलाई सबै ठाउँमा खोजतलास गरिए पनि कुनै जानकारी पाउन सकिएको छैन । स्थानीय प्रहरी कार्यालय, माईती नेपालमा समयमै खबर गरिएको र त्यहाँबाट पनि अहिलेसम्म कुनै खबर नआएको अभिभावकद्वयले बताए ।
सम्पर्कबिहीन किशोरीहरुको बारेमा बुधवारे प्रहरी चौकीमा बुझ्दा पहिले पनि स्थानीय मेलाबाट हराएर केही दिनपछि प्रहरीले नै खोजेर ती किशोरीहरुलाई अभिभावकको जिम्मा लगाएको थियो ।
अहिलेसम्म कतै फेला नपरेको बताउँदै सबैतिर जानकारी गरिएको प्रहरीले जनाएको परिवारले बताएको छ । यदि कसैले देखे भेटेमा स्थानीय प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरी र अभिभावकले अपिल गरेका छन् ।