झापा । 

झापा छुट्टाछुट्टै स्थानबाट पाँच जना प्रतिबन्धित लागू औषधसहित पक्राउ परेका छन् । झापा गाउँपालिकाबाट दुई जना र भद्रपुर नगरपालिकाबाट तीन पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–४ बाट को.२० प ९१६१ नम्बरको मोटरसाईकल पार्किङ गरी सोही स्थानमा बसिरहेका भद्रपुर–७ का ३० बर्षिय सुनिल चौलागाई र झापा गाउँपालिका–४ का २७ बर्षिय मोहम्मद अब्दुल बिहीवार राति ९ बजे पक्राउ गरेका छन् । उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा सुनिल चौलागाईको पाइन्टको गोजीबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक बाहेक ०.७८ मिलि ग्राम फेला परेको थियो । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान  भइरहेको छ ।  

यसैगरी भद्रपुर नगरपालिका–४ झापा चोकस्थित वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले ज्ञानेचोकबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ह ८०३० नं. को अटोमा सवार बिर्तामोड–१ का २३ बर्षिय मनोज तामाङ, बिर्तामोड–५ का  २८ बर्षिय रोशन श्रेष्ठ र भोजपुरको षडानन्द नगरपालिका–७ का ३२ बर्षिय विजय जोगीलाई गएराति १० बजेको समयमा नियन्त्रण गरेको छ । 

उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा मनोज तामाङले लगाएको रातो कलरको ज्याकेटको गोजीमा प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर प्लाष्टिक बाहेक ४ ग्राम ८६० मिलि ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीसहित उनका तीनै जनालाई नियन्त्रणमा लिएर  जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।