बिर्तामोड ।
झापाको बिर्तामोडमा महिला उद्यमीहरुलाई आन्तरिक राजस्व कार्यालय झापाले कर सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल उद्यमशील महिला संघ झापाको आयोजना साथै आन्तरिक राजस्व कार्यालय झापाको सहकार्यमा महिला उद्यमीहरूसँग कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्बता खरेल बिमलीको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्लेको प्रमुख आतिथ्यमा अन्तरक्रियाको उद्घाटन भएको थियो ।
स्वागत संघकी बरिष्ठ उपाध्यक्ष ऐश्वर्या पाण्डेले गरेको कार्यक्रममा कर अधिकृत तीलक थापा मगर, सीता खतिवडाले करको परिचय, महत्व, बिशेषताबारे सहभागीलाई जानकारी गराएका थिए ।कार्यक्रममा कर प्रमुख काफ्लेले कर तिर्नुपर्ने कारणहरू र त्यसका फाइदाका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा झापा अध्यक्ष ओमकृष्ण बिमलीले कर तिर्नु नागरिकको कर्तव्य भएको बताए । कार्यक्रममा सञ्चारिका समूहकी अध्यक्ष लीला अनमोल, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रममा ७० जना भन्दाबढी महिला उद्यमीको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव बिना थापाले गरेकी थिइन् ।