झापा ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन भएको छ । मन्त्रालयले डिसेम्बर महिनाको १८ तारिखदेखि अर्थात बुधवार (आज) बाट सप्ताहव्यापी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागेको हो ।
यस वर्षका लागि ‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने मूल नारा तय गरेको छ । मन्त्रालयले विभिन्न संघसंस्थाहरूसँगको सहकार्यमा दिवस मनाउन सुरु गरेको हो ।
दिवसको पूर्वसन्ध्यामा मन्त्रालयले आप्रवासी दिवसका लागि राष्ट्रिय आह्वानपत्र जारी गरेको छ । विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस हरेक वर्ष डिसेम्बर महिनाको १८ तारिखका दिन मनाइने गरिएको छ । कामका लागि वैदेशिक रोजगारीमा जाने र उनीहरूका परिवारको अधिकारका लागि यस दिवसले सरकारको ध्यानाकर्षण गराउने गरेको छ ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभर अनुमानित २८ दशमलव १ करोड मानिसहरू आप्रवासी रहेका र त्यसमध्ये आप्रवासी श्रमिकहरूको संख्या १६ दशमलव ९ करोड छ ।
वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार आर्थिक वर्ष २०६५/०६६ देखि हालसम्म वैदेशिक रोजगारीको क्रममा १४ हजार २१३ जना नेपाली कामदारको मृत्यु भएको छ । रोजगारीका क्रममा अंगभंग भएका कतिपय बिरामी अस्पतालमै छन् ।
पछिल्ला वर्षहरूमा मानसिक समस्यामा पर्नेहरूको संख्या बढिरहेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदार र उनीहरूका परिवारले चर्को सामाजिक मूल्य चुकाउनु परेको कतिपय अध्ययनले उजागर गरेका छन् । श्रम मन्त्रालयले सार्वजनिक गरेको आह्वानपत्रमा श्रमिकले पठाएको विप्रेषणले आप्रवासी श्रमिकहरूको घर परिवार संचालन, मानवीय जीवनस्तर सूचकांकमा सुधार र गरिबीको आर्थिक जोखिम कम गर्न ठूलो सहयोग पुगेको उल्लेख छ ।
त्यसैगरी नेपाल सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सम्बद्ध कानुनहरूमा परिमार्जन, निःशुल्क अभिमुखीकरण तालिम, सीपसहितको रोजगारीको सुनिश्चितता, श्रम सम्झौता पुनरावलोकनका साथै थप गन्तव्य मुलुकसँग श्रम सम्झौता र समझदारी, वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई निःशुल्क बैंक खाता खोल्न र सोही खातामार्फत स्वदेशमा विप्रेषण ल्याउन प्रोत्साहन गर्ने, ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन गरी वैदेशिक रोजगारीमा रहेका कामदार र स्वदेशमा रहेका उनीहरूका आश्रित परिवारलाई प्रत्यक्ष लाभ पुर्याउने नीति लिइएको बताउँदै आएको छ ।