हल्दीबारी। 

झापाको हल्दीबारी गाउँपालिका परिसरमा नवनिर्मित पशु उपचार अस्पताल भवनको एक कार्यक्रमका बीच झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय राजेन्द्र लिङदेनले समुद्घाटन गरेका छन्। कोशी प्रदेश सरकारबाट सशर्त अनुदान ५० लाख र गाउँपालिकाको १४ लाख २८ हजार ८ सय १४ रूपैयाँ लागतमा भ्याट सहित ६२ लाख ९२ हजार ५ सय ५१ रूपैयाँ लागतमा तयार भएको अस्पताल २०८० चैत १४ गते योजना सम्झौता भएको थियो।भवन करिव १३ धुर क्षेत्रफलमा फैलिएको छ।

एञ्जिलिना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा लि ले २०८१ कार्तिक मसान्तसम्म मा निर्माण सम्पन्न गर्ने भनि सम्झौता गरेको थियो। हाल सम्म गाउँपालिका बाट ४८ लाख ६३ हजार ७ सय ३७ रूपैयाँ भुक्तानी भएको र बाँकी रकम मुल्यांकन पछि भुक्तानी गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जानकारी दिए।

यो अस्पताल पूर्ण रुपमा प्रयोगमा आएपछि हल्दीबारीसहित छिमेकी स्थानीय तहलाई समेत पशु उपचारमा सहजता मिल्नेछ। समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले हल्दिबारी गाउँपालिकाले पशु अस्पताल निर्माण गरेर प्रशंसनीय कार्य गरेको भन्दै पशुपालन र कृषी लाई प्राथमिकता दिनुपर्ने बताएका थिए।धेरै नागरिकहरु पशुपालनमा संलग्न रहेपनि पशु अस्पताल नजिक नहुदा धेरैले दुख पाएको भन्दै अव सहज हुने विश्वास व्यक्त गरेका थिए।अस्पताललाई आवश्यक उपकरण र प्राविधिक व्यवस्थापन तयार गरेर छिट्टै संचालनमा ल्याउन पनि आग्रह गरेका थिए।

अस्पतालले पशुपालक किसानहरूलाई रोग उपचार, खोप सेवा, र प्राविधिक तालिम जस्ता सेवाहरू व्यवस्थित रूपमा प्रदान गर्ने लक्ष्य लिएको छ। यसले किसानहरूको पशु पालन व्यवसायलाई थप व्यवस्थित र फाइदाजनक बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ।

हल्दीबारी गाउँपालिकाले यस अस्पताल निर्माण गरी अन्य पालिकाभन्दा अगाडि रहेर पशुपालन क्षेत्रको विकासमा ऐतिहासिक कदम चालेको कार्यक्रमका वक्ताहरूले बताएका थिए। अस्पताल सञ्चालनपछि पशुजन्य उत्पादनमा वृद्धि हुने र किसानहरूलाई आर्थिक रूपमा सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ। हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले अस्पताललाई अझ प्रभावकारी बनाउन प्राविधिक जनशक्ति थप गर्ने र थप सेवाहरू विस्तार गर्ने योजना रहेको जानकारी दिएका थिए।

हल्दीबारी गाउँपालिकाले सुत्केरी पशु प्रोत्साहन स्वरुप आवश्यक भिटामिन औषधि सहितको सुत्केरी पोषण प्याकेज समेत वितरण गर्दै आएको छ। हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, जनप्रतिनिधि, सरोकारवालासहित सबै शाखाका कर्मचारीहरू, संचारकर्मीहरुको उपस्थिति रहेको थियो‌ भने औपचारिक कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।