बुट्टाबारी । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ महारानीगञ्ज टोल बिकास समितिले  दुई कृषकलाई राहत प्रदान गरेको छ । गत मंसिर १५ गते बेलुकी अज्ञात समुहले अर्जुनधारा–११ महारानीगञ्ज टोलका सोनालाल किस्कुको एक बिघा १० कठ्ठा धानको कुन्यु र अम्बर राउतको १४ कठ्ठा धानको कुन्यु दुई सय मिटरको दुरिमा बेलुकी ९ बजे एकै समयमा आगजनी भएको थियो ।  

कार्यक्रममा टोल बिकास समितिको अगुवाईमा ४० मन धान सकलन गरि किस्कु र राउतलाई २०÷२० मन धान हस्तान्तरण गरिएको हो । जसमा टोलका मनकारी अगुवा सहयोगीहरु नरेन्द्र खड्का, गणेश गिरी, केबि चौहान, भुपेन्द्र बिष्ट, बद्री हुमगाई, बच्चेलाल चौधरी, डम्बर चौधरी, जगतबहादुर मगरलगायत ७८ घरबाट संकलन गरिएको समितिका अध्यक्ष नरेन्द्र खडकाले जानकारी दिए। 

आगजनीबाट किस्कुको सय मन धान र राउतको साठी मन धान खान नहुने गरि नस्ट भएको थियो । किस्कु घर निर्माण सामान्य ठेकेदार हुन भने राउत महारानीगञ्ज माध्यमिक बिद्यालयका कर्मचारी हुन् । उनिहरुको भनाइ अनुसार यस क्षेत्रमा कोहिसँग दुश्मनी नभएको र बर्ष भरी परिवारलाई खाने धान नष्ट गरेकोमा धेरै दुःखी र उनिहरुलाइ खोजी गरि कार्वाहीका लागि सुरक्षाकर्मी एवम् स्थानीय सरकारलाई अनुरोध गरेको छन् । 

वडाध्यक्ष खगेन्द्र इङ्गनामको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा अध्यक्ष इङ्गनाम लगायत सामाजिक ब्याक्तित्व एवम् नेपाली कांग्रेस वडा सभापति जगतबहादुर मगर, महारानीगञ्ज माबिका अध्यक्ष बिपि कोइराला, पीडित अम्बर राउतले सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गरेका थिए । महारानीगञ्ज माबिको प्राङ्गणमा भएको कार्यक्रमको अध्यक्षता नरेन्द्र खड्का  र सहजीकरण सचिव चन्द्र सुवेदीले गरेका थिए ।