बिर्तामोड  । 

नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन अन्तर्गत आज तीनै तहको निर्वाचन सम्पन्न भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान  भएको हो। यसै क्रममा झापा शाखाको पनि नयाँ नेतृत्व चयनका लागि आज मतदान भएको छ । बिहान १० बजेदेखि ४ बजेसम्म बिर्तामोडको अग्रसेन भवनमा भएको मतदान २०५ मत खसेको निर्वाचन समितिले जनाएको छ । 

जम्मा २० कार्यसमिति, १३ प्रदेश परिषद सदस्य र ४ केन्द्रीय परिषद सदस्यका ५४ जना उम्मेद्वार बनेका थिए । त्यसमा १३ प्रदेश परिषद सदस्य निर्विरोध भइसकेका छन् भने कार्यसमितिको सह–सचिव र दलित सदस्य पद पनि निर्विरोध भएको छ । सह–सचिवमा रमेश तिवारी निर्विरोध भएका हुन् ।

नरेन्द्र ढकालले उम्मेद्वारी फिर्ता लिएपछि तिवारी निर्विरोध भएका हुन् । त्यस्तै किशोर उपरकोटीले उम्मेद्वारी फिर्ता लिएपछि दलित सदस्यमा मनकुमार गदाल निर्विरोध भएका छन् । त्यस्तै चारजना केन्द्रीय परिषद सदस्य मध्ये दुईजना निर्विरोध भएका छन् । विशाल नेम्बाङ र लीला अनमोल निर्विरोध भएका हुन् । आज कार्यसमितिको १८ र केन्द्रीय परिषद सदस्यको २ गरी २० पदका लागि निर्वाचन भएको हो ।

महासंघको झापा शाखाको अध्यक्ष पदका लागि चार जनाले उम्मेद्वारी दिएका छन् । अध्यक्ष पदका लागि एकराज गिरी, डिकेश लामा, राजेन्द्र गौतम र टीकाराम नेतीले उम्मेद्वारी दिएका हुन् । दुईवटा प्यानलसँगै अन्य दुई जनाको अध्यक्षमा उम्मेद्वारी परेको हो । पत्रकार महासंघ झापा शाखामा २२० जना सदस्य रहेका छन् । मतदान सम्पन्नसँगै आजै बेलुकादेखि मत गणना हुने निर्वाचन समितिले जनाएको छ ।