झापा ।
स्रोत नखुलेको अमेरीकन डलरसहित झापाको गौरादहका एक व्यक्ति पक्राउ परेका छन् । बिहीवार दमकबाट बिर्तामोडतर्फ आउँदैं गरेको प्रदेश १–०२–००१ ख ९५३० नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा सोही बसमा सवार गौरादह नगरपालिका–५ बस्ने २५ वर्षीय मोहम्मद नौसाद मिया ठूलो मात्रामा अमेरिकन डलरसहित पक्राउ परेका हुन् ।
मियाले बोकेको कालो झोला चेकजाँच गर्दा स्रोत नखुलेको अमेरीकन डलर १०० दरका २९७ थान २९,७०० बिहीवारको नेपाली दररेट १ डलरको १३५.८२ अनुसार ४०लाख ३३ हजार ८ सय ५४ रुपैयाँ फेला परेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक निशान थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले कमल गाउँपालिका–३ केर्खा चोकस्थित पूर्वपश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्नेक्रममा मिया सवार बसलाई पनि चेकजाँच गरेको थियो ।