अर्जुनधारा ।
नेपाल मजदुर यातायात संघ अन्तर्गत हल्का सवारी चालक संघ बिर्तामोड नगर समितिले अपाङ्गता र टुहुरा भएका बालबालिकाहरुका लागि सहयोग प्रदान गरेको छ । अर्जुनधारास्थित कप्तानबारीमा सञ्चालित अपाङ्ग बाल सरोकार केन्द्रमा आइतवार आयोजित एक कार्यक्रममा मजदुरहरुले करिब १५ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन्।
नेपाल मजदुर यातायात संघ हल्का सवारी चालक संघका बिर्तामोड अध्यक्ष प्रदीपकुमार लिम्बुको संयोजन र नेपाल चिया बगान मजदुर संघका केन्दीय अध्यक्ष दीपक तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सहयोग वितरण कार्यक्रममा नेपाली कांग्रेस झापा जिल्ला सदस्य रश्मिशेखर सुवेदीको उपस्थिति रहेको थियो।
२०६९ सालमा स्थापना भएको उक्त अपाङ्ग बालसरोकार केन्द्रका सञ्चालक कृष्ण दुलालले संस्थामा १३ जना बालबालिका रहेको र ७ जनालाई शनिश्चरे उच्च माविमा पठनपाठनको व्यवस्था मिलाइएको र बाँकीलाई केन्द्रमै राखी हेरचाह भैरहेको जानकारी दिए ।
केन्द्रको कुनै नियमित आर्थिक श्रोत नभएकोले दाताहरु बाट प्राप्त सहयोगले सञ्चालन भै आएको सञ्चालक दुलालले बताए। बिर्तामोड निवासी समाजसेवी डिल्ली प्रसाईले २०७० सालदेखि नियमित रुपमा महिनाको ३० केजी चामल र कतारमा बैदेशिक रोजगारीमा रहेका भवानी कोईरालाले २०७४ सालदेखि बार्षिक ५ हजार सहयोग गरिरहेको दुलालले जानकारी दिए ।
आफूपनि अपाङ्ग भएको र अपाङ्गता भएकाहरुको लागि केही गर्न सकौं भनी कनकाई मावि सुरुङ्गाको शिक्षण पेशा छोडेर यस कर्ममा लागेको बताउने दुलाललाई यो केन्द्र सञ्चालनका लागि स्व.डा. गंगानाथ बास्तोलाको परिवारले झापाको कप्तानबारी स्थित घर निःशुल्क प्रदान गरेको छ । केन्द्रमा दुलाल लगायत ३ जना अरु कर्मचारी कार्यरत रहेका छन् ।
सहयोग वितरण कार्यक्रममा प्रमुख अतिथी नेपाल चिया बगान मजदुर संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले मजदुरहरूले आफ्नु गाँस काटेर प्रदान गरेको सहयोगले अपाङ्गता भएका बालबालिकाको अनुहारमा खुशी छाए यो नै सर्वोत्तम मानव धर्म हुने बताए । मजदुरहरुको सहयोगको सह्राना गर्दै नेका जिल्ला सदस्य रश्मिशेखर सुवेदीले भने सधैँ दिएर खान पुगोस् । कार्यक्रममा केन्द्रका सञ्चालक दुलालले सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए।