गरामनी ।
रोट्री क्लब बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल र उनकी धर्मपत्नी माया अग्रवालले आफ्नो ४४ औं विवाह वर्षगाँठ सन्थाल बस्तीमा गएर मनाएका छन्। बिर्तामोड नगरपालिका वडा नम्बर ८ स्थित प्याकुरेल चोकमा रहेको सन्थाल बस्ती कि एक बालिका दुर्गा बास्केलाई सहयोग गर्ने उद्देश्यले घरैमा गएर अग्रवाल दम्पतिले वैवाहिक वर्षगाँठ मनाएका हुन्।
गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयमा कक्षा आठमा अध्ययनरत दुर्गाको दायाँ हात अपाङ्ग रहेको र उनको उक्त हातलाई कृत्रिम हात निर्माण गरी दिने उद्देश्यका साथ अग्रवाल दम्पतिले बास्केको घरैमा गएर परिवारसँग परिचय गर्नुका साथै वैवाहिक वर्षगाँठ को अवसरमा विभिन्न उपहारहरू समेत प्रदान गरेका थिए।
सो अवसरमा अध्यक्ष अग्रवालले ति बालिकालाई झापाबाट बीरगंज अस्पतालसम्म जाने आउने र खान बस्नको समेत प्रबन्ध गरिदिने घोषणा गरेका छन्। रोट्री क्लबको संयोजनमा ती बालिकाको हात को उपचार गर्ने प्रबन्ध मिलाइएको अग्रवालले बताए।।
अग्रवाल दम्पति सन्थाल परिवारमा पुग्दा वरपरका अन्य समुदायहरूको समेत उपस्थिति रहेको थियो। उनले उपस्थित समुदायलाई मिठाई बिस्कुट चाउचाउ लगायतका सामग्रीहरु उपहार स्वरूप दिएका थिए। बास्के परिवारलाई एक बोरा चामल पानी तताउने इलेक्ट्रिकल जग र बालिकालाई १ सेट ट्राउजर समेत उपहारस्वरूप प्रदान गरेका थिए। अग्रवालले हरेक वर्ष जन्मदिन वा वैवाहिक वर्षगाँठको अवसर पारेर सामाजिक सेवा गर्दै आएका छन्।
बालिकाको हातको उपचार गरिदिने घोषणा गरेपछि बास्के परिवारमा खुसी छाएको छ। दुर्गा किआमाको निधन भएपछि बाबु समेत भारतमा काम गर्न गएकाले मामा माइजूको शरणमा बस्दै आएकी छिन् ।