झापा । 

झापाका अलग–अलग तीन ठाउँमा आगलागी भएको छ । तीन स्थानमा भएको आलागीमा १९ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।  अर्जुनधारा नगरपालिकामा धानको कुन्यू, झापा गाउँपालिकामा घरमा र दमक नगरपालिकामा किराना कस्मेटिक र खाद्यान्न पसल आगलागी भएको हो । 

गएराति अन्दाजी १० बजेको समयमा अर्जुनधारा–११ सालबारीका ४७ बर्षिय  भुमिनाथ बरालको र सोही स्थानका अमर राउतको १ बिघा धान काटेर जम्मा गरी राखेको धानको कून्यूमा अचानक आगलागी हुँदा २ लाख १० हजार बराबरको धान र कून्यू जलेर नष्ट भएको छ ।  उक्त आगो नेपाल प्रहरी, स्थानिय, बिर्तामोड नगर, मेचीनगर र भद्रपुर नगरको दमकलको सहयोगमा राति १२ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । 

यसैगरी अन्दाजी ६ः४५ बजेको समयमा झापा–७ रमितेटोल बस्ने लुखी हस्दाको घरमा बिधुत लाईन सर्ट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटी बेराले बनेको तीन कोठे घरमा रहेको सम्पूर्ण मालसामानहरु र नजिकै रहेको ग्वाली गोठ समेत पूर्ण रुपमा जलेर नष्ट हुँदा २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । उक्त आगो नेपाल प्रहरी र स्थानियबासीको सहयोगमम ७ः२५ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । 

त्यसैगरी राति अन्दाजी १२ः१५ बजेको समयमा दमक–१ रवि स्टेन बस्ने शिव राईको पक्की ढलान भएको अढाई तले घरको भुई तलामा किराना कस्मेटिक र खाद्यान्न पसल गरी बस्ने ४३ बर्षिय रामकिशोर साहको पसलमा करेन्ट सर्ट भई आगलागी भएको छ । आगलागीबाट पसलमा रहेको सम्पूर्ण किराना सामान, कस्मेटिक सामान, खाद्यान्न सामान, झ्याल, ढोका, फ्रिज र अन्य सर–सामानहरु समेत जल नष्ट हुँदाअन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको छ । 

उक्त आगो नेपाल प्रहरी, दमक नगरको दमकल र स्थानियको सहयोगमा राति १ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । तीनवटै आगलागीको सम्बन्धमा सम्बन्धीत प्रहरी कार्यालयहरुले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।