बिर्तामोड । 

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा झापाका पालिका उपप्रमुख, उपाध्यक्ष र कानुन व्यवसायीहरुले समाजमा लैंगिक हिंसाको स्थिति र यसका समाधानका उपायहरूमा आफूहरूले खेलेको भूमिकाबारे चर्चा गरेका छन् ।

झापाको बिर्तामोडमा आज (शुक्रबार) आयोजित  कार्यक्रमका वक्ताहरूले महिलाको अधिकार र लैंगिक समानता सम्बन्धी धारणा व्यक्त गरेका हुन् । अर्जुनधारा नगर उपप्रमुख खड्गमाया पराजुलीले समाजमा हिंसा दोहोरो भएको र पुरुष पनि पीडित भएकाले सचेत हुन जरुरी रहेको बताइन् ।

झापा गाउँपालिका उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले महिलाका समस्याहरूको सम्वेदनशीलतालाई सम्बोधन गर्नुपर्ने कुरामा जोड दिइन् । उनले परिवर्तन आफैँबाट सुरु गर्नुपर्ने र व्यवहारमा उतार्नुपर्ने बताइन् । मेचीनगर उप–प्रमख मिना पोखरेलले लैंगिक हिंसालाई महिला हिंसाको रुपमा मात्र सीमित नगरी सबैलाई सचेत गराउनु जरुरी भएको बताइन् ।

दमक उपप्रमुख रेगिना भट्टराईले भौतिक मात्र नभएर मानवीय विकासमा पनि जोड दिनुपर्ने धारणा राखिन् । नेपाल बार एसोसिएसन झापा उपाध्यक्ष भीम बरालले हिंसाको दायरा अब थप फैलिरहेको र यसमा पुरुषहरू पनि पीडित बन्न सक्ने कुरा स्पष्ट गरे ।

कार्यक्रमले लैंगिक हिंसाविरुद्ध व्यापक जनचेतना फैलाउन र यसलाई समाजका विभिन्न तहमा प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग गरेको बताइएको छ । अधिवक्ता कविता बास्तोलाले ‘लैंगिक हिंसाः अवस्था, कारण र सुझाव’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कानुनमा नै महिला पुरुषको समान अधिकार उल्लेख गरिएको भन्दै त्यसको पूर्वकार्यान्वयनका लागि जोड दिए । उनले लैंगिक मात्र नभई जल, जमिन जस्ता स्रोतहरुलाई समेत हिंसा गर्न नहुने बताए ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक विद्यासागर मेहेताले सामाजिक सञ्जालबाट हुने ठगी रोक्न जनचेतना जगाउन आवश्यक भएको बताए । सामाजिक सञ्जालमा भइरहेको महिलाविरोधी गतिविधिलाई रोक्नका लागि जनचेतनामुलक कार्यक्रम आयोजना गर्नुपर्ने उनको धारणा थियो ।

मानव अधिकार सञ्जाल झापाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता सञ्जालका झापा अध्यक्ष डा. रुपक खनाल रहेका थिए । कार्यक्रम सञ्जालका सदस्य टिकाराम धमलाले सञ्चालन गरेका थिए ।

कार्यक्रम शान्ति र विकासका लागि सामाजिक सञ्जाल, अस्ट्रेलियन एड, अस्ट्रेलियन लुथरन र लुथरन वर्ल्ड फेडेरेशनको सहयोगमा भएको हो ।