बिर्तामोड ।
बिर्तामोडमा सामुदायिक कुकर बन्ध्याकरण शिविर शुरु भएको छ । नगरपालिकाको आयोजनामा २ दिने शिविर आज (बिहीवार)देखि पशुपंछि तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा शुरु भएको हो ।
एक संक्षिप्त कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरका सबै वडाबाट सामुदायिक कुकुर संकलन गरेर बन्ध्याकरण गर्न निर्देशन दिइन् । छाडा कुकुरका कारण विभिन्न प्रकारका दुर्घटना, रेबिज, अन्नबालीमासमेत क्षति हुने गरेकोले यसको नियन्त्रणका लागि यो शिविर महत्वपूर्ण रहेको बताइन् । उनल यस कार्यमा सबै जनप्रतिनिधि तथा स्थानीय टोलविकास संस्थाहरुले सहयोग गर्नु पर्ने धारणा राखिन् ।
यस पटक २ सय वटा सामुदायिक कुकुरको वन्ध्याकरण गरीने पशुपंछि तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिए। बिर्तामोडमा सामुदायिक कुकुरको वन्धायकरण हरेक वर्ष हुँदै आएको छ । यस वर्ष हाम्रो भेटेरिनरी सहकारी संस्था बिर्तामोडले प्राविधिक सहयोग उपलव्ध गराएको छ । यस संस्थाका चिकित्सक सहित १२ जना भन्दा बढी जनशक्ति यस शिविरमा खटिएका छन्।
यस वर्ष ५ लाख रुपैयाँ बजेट यस शिर्षकमा छुट्टिएको र सोहि अनुसार शिविर सञ्चालन गरीएको शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिइन् । उनका अनुसार एउटा कुकुर वन्ध्याकरणको खर्च दुई हजार ६५० रुपैयाँ हुने गरेको छ ।
कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक सदस्य सिता ढुङ्गाना विश्वकर्माको अध्यक्षतामा आयोजित शिविर उद्घाटन कार्यक्रममा वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्मा, नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको उपस्थिति रहेको थियो ।