झापा । 

मलेशियाले आगामी चैत महिनादेखि नयाँ विदेशी कामदार भर्ना गर्नका लागि आवेदन खुला गर्ने संकेत गरेको छ । मलेशियाका गृहमन्त्री सैफुद्दिन नासुशन इस्माइलले विदेशी कामदार भर्नामा लगाएको रोक आगामी वर्षको पहिलो चौमासिकपछि समीक्षा गर्ने बताएका छन् ।

मलेशियामा १ जनवरीदेखि आर्थिक वर्ष प्रारम्भ भई ३१ डिसेम्बरमा अन्त्य हुने गरेको छ । गृहमन्त्री सैफुद्दिनले अर्थ मन्त्रालयले तोकेको २५ लाख ८० हजार जना विदेशी कामदारको सीमाभन्दा अहिले मलेशियामा विदेशी कामदारको संख्या ४५ हजार कम रहेको बताए । मलेसियाले सन् २०२३ को मार्च ३१ तारेखदेखि विदेशी कामदारको एप्रुभल रोकेको थियो  ।

९ महिनासम्म नयाँ एप्रुभल नखुल्दा सरकारमाथि विदेशी कामदार भर्नाको प्रक्रिया सुरुवात गर्न विभिन्न क्षेत्रबाट दबाब बढिरहेको छ । मलेशियाको राजधानी क्वालालम्पुरमा बुधबार आप्रवासी कामदार व्यवस्थापनसम्बन्धी गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयबीचको संयुक्त समितिको बैठकपछि गृहमन्त्री सैफुद्दिनले देशमा रहेका १७ दशमलव २ मिलियन श्रमशक्तिको १५ प्रतिशतमा अधिकतम सीमा तोकिएकाले अर्को वर्षको पहिलो त्रैमासिकमा बस्ने संयुक्त समितिको बैठकले नयाँ निर्णय गर्ने गरी त्यतिन्जेलसम्म फ्रिज अर्थात् प्रतिवन्ध कायम गर्ने निर्णय गरेको छ । 

छुट्टै प्रसंगमा गृहमन्त्री सैफुद्दिनले गृह मन्त्रालय र मानव संसाधन मन्त्रालयले विदेशी कामदारमाथिको निर्भरता घटाउन र कारागारहरूमा हुने भीडभाडलाई सम्बोधन गर्न हत्या वा बलात्कार जस्ता अपराधमा सजाय पाएका बाहेक कैदीलाई काममा लगाउने अनुमति दिन सैद्धान्तिक रूपमा सहमति जनाएको बताएका थिए । तर, त्यसमा हाल कुनै निर्णय नभएको र भविष्यमा पनि त्यस विषयमा थप छलफल नहुने बताए । कैदीलाई काममा नलगाउने सहमति भएपछि मलेशियामा विदेशी कामदार खुला गर्नुको विकल्प नभएको बताइएको छ ।

केही दिनअघि मलेसियाको मानव संसाधन मन्त्रालयले मलेशियामा विदेशी कामदार भर्नाको प्रसंगमा लागत पुनर्संरचनाका लागि स्रोत मुलुकहरूसँग छलफल गरिरहेको बताएको थियो । मलेशियाले सन् २००१ देखि नै नेपाललाई श्रमिक आपूर्तिको स्रोत मुलुकका रूपमा सूचीकरण गरेको हो । नेपाल, भारत, इन्डोनेसिया, कम्बोडिया, भियतनाम, बंगलादेश, श्रीलंकालगायतका १५ मुलुकलाई मलेशियाले स्रोत मुलुकमा राखी कामदार लैजाने गरेको छ ।

उत्पादन, सुरक्षा गार्ड, सेवामूलक क्षेत्र, कृषि क्षेत्र, निर्माण र बागवानी क्षेत्रमा ३ लाखभन्दा बढी नेपाली काम गरिरहेका छन्  । नेपालसँग मिल्दोजुल्दो हावापानी र राम्रो तलबका कारण मलेशिया नेपाली कामदारको आकर्षक गन्तव्यका रूपमा रहेको छ ।

मलेशियाले आगामी फेब्रुअरीदेखि न्यूनतम मासिक तलब १७ सय रिंगेट लागू हुने घोषणा गरेको छ । त्यसले पनि मलेसियाको रोजगारीबारे नेपाली कामदार तथा उनीहरूलाई पठाउने म्यानपावर कम्पनीबीच तीव्र चासो छ ।  मलेशियाबाट नयाँ रोजगारीको डिमान्ड नआउँदा वार्षिक २ लाख नेपालीले रोजगारी गुमाएका छन् । लामो समय मलेशिया बन्द रहे नेपालका धेरै म्यानपावर कम्पनीहरूले इजाजत नवीकरणका लागि अनिवार्य गरिएको बार्षिक सय जना कामदारसमेत पठाउन नसक्ने अवस्था छ ।