झापा ।
झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अलग–अलग समयमा प्रतिबन्धित लागू औषधसहित तीन जना पक्राउ परेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सोमवार साँझ लागू औषधसहित एउटा मोटर साइकल र अर्का एक जनालाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदैं गरेको मे.९ प.९०३७ नम्बरको मोटरसाईकललाई रोकेर चालक झापा गाउँपालिका–५ का २४ बर्षिय देबेन्द्र चौधरी र पछाडी सवार बिर्तामोड–५ का ३५ बर्षिय सुरेश श्रेष्ठलाई चेकजाँच गरेको थियो ।
चेकजाँच क्रममा मोटरसाईकलको हेडलाईटको पछाडी वायरिङ जडान भएको भागमा लुकाई छिपाई ल्याउँदैं गरेको खैरो हेरोईन प्लाष्टिक बाहेक १ ग्राम फेला परेको थियो । उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको छ ।
यसैगरी भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदैं गरेका पाँचथरको फालेलुङ गाउँपालिका–६ घर भई हाल इलामको सुर्योदय नगरपालिका–८ फिक्कल श्रीअन्तु रोड बस्ने २४ बर्षिय बसन्त राईलाई चेकजाँच गर्दा उनले प्लाष्टिकमा पोको पारी मलद्धारमा राखी लुकाई छिपाई ल्याउँदैं गरेको खैरो हेरोईन प्लाष्टिक बाहेक ८ ग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरु तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।