बिर्तामोड ।
नेपालको अलैची उद्योगलाई रुपान्तरण गर्दै नयाँ निर्यात अवसरहरु सिर्जना गर्ने उदेश्यले झापाको बिर्तामोडमा नेपाल एभरेष्ट कार्डामम प्रोडक्शन एण्ड प्रोसेसिङ प्रालि उद्योग सञ्चालनमा आएको छ ।
झापाका ब्यवसायी ओमकृष्ण बिमली, पार्वता खरेल बिमलले करिव १५ करोडको लगानीमा सो उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको उद्घाटन कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले आज (सोमबार) गरेका छन् ।
नयाँ प्रशोधन केन्द्रको सञ्चालनसँगै नेपालको मसला उद्योगलाई रुपान्तरण गर्दै उच्च गुणस्तरीय हिमाली अलैंची तथा मसला अन्तर्राष्ट्रिय बजारमा नयाँ आयाम थपेको उद्योगका अध्यक्ष ओमकृष्ण बिमलीले बताए । उनका अनुसार उद्योगको सम्पूर्ण लगानी १५ करोड हो ।
उक्त प्रशोधन केन्द्रले रोजगारीको बृद्धि गर्दै अन्तरािष्ट्रय बजारमा नयाँ उत्पादनहरुको प्रवर्धनका लागि रणनीति अभियान शुरु गर्न सक्षम बनाउने अध्यक्ष बिमलीले विश्वास ब्यक्त गरे ।
युएसएआइडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामको सहयोगमा एनइसीले अत्याधुनिक प्रशोधन मेशिनरी प्राप्त गरेको बताइएको छ । साथै एभरेष्टशान ब्राण्ड अन्तरगत ३० नयाँ मूल्यवर्धित उत्पादनहरु बजारमा ल्याउने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमलीले जानकारी गराएका छन् । उन्नत प्रशोधन क्षमता र लक्षित बजार अभियानसँगै नेपालको अलैंची क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा बृद्धि र पहिचान प्राप्त गर्ने कम्पनीको विश्वास छ ।
सो उद्योगबाट उत्पादित सामानहरुमा ८० प्रतिशत स्थानीय कच्चा पदार्थको प्रयोग हुने र २० प्रतिशत मात्र विदेशी कच्चा पदार्थको प्रयोग गरिने उद्योगकी सञ्चालक पार्वता खरेल बिमलीले बताइन् । उनका अनुसार सञ्चालनमा आएको उक्त केन्द्रले कालो अलैचीको प्रशोधन गरी आवश्यक तेल, माउथ फ्रेशनर र बिभिन्न मसलाहरु उत्पादन गर्नेछ ।
उद्योगका अध्यक्ष बिमलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री हाङ्गाम, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, ब्यापार तथा निकासी प्रवर्धन केन्द्रका महानिर्देशक डा. सरदबिक्रम राणा, युएसएआइडीको ट्रेड एण्ड कम्पेटिटिभनेस प्रोग्रामका प्रतिनिधि जेसन सुकलगायतले आ–आफ्नो भनाई राख्दै शुभकामना मन्तव्य राखेका थिए । स्वागत सञ्चालिका पार्वता खरेल बिमलीले गरेको कार्यक्रममा धन्यवाद कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्वल बिमली र सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।