झापा । 

बसको ठक्करबाट बालिकाको मृत्युपछि सुनसरीको खनारमा उत्पन्न तनावमा २२ जना प्रहरी घाइते भएका छन् । भीड नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरीका २० र सशस्त्र प्रहरीका २ जना गरी जम्मा २२ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको अवस्था सामान्य रहेको जनाइएको छ । 

स्थिति नियन्त्रण बाहिर गई प्रहरीमाथि ढुङ्गामुडा गरेपछि प्रहरीले इन्सास राईफलबाट ११ राउण्ड, ग्यास गनबाट ११ सेल अश्रु ग्यास, ३०३ राईफलबाट २५ राउण्ड ब्ल्याङ्क फायर, एसएलआरबाट २ राउण्ड, सटगनबाट ७ काटिज गरी जम्मा ५६ राउण्ड फायर गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो । 

बस चालक विराटनगर–१३ का २७ वर्षीय अमित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरी ल्याइएको छ भने आगजनीबाट क्षतिग्रस्त बस खनार ट्राफिक पोष्टको नियन्त्रणमा रहेको छ । बालिकाको शव साँझ ६ः४४ बजे कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि कोशी अस्पताल विराटनगर पठाएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ४ः३० बजे प्रदेश नं. १–०१–००१ ख ४५७४ नं. को बसको ठक्करबाट एकजना छात्राको मृत्यु भएपछि आक्रोशित भीडले सो यात्रुबाहक बसलाई आगो लगाइदिएका थिए । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका हुन् । आगजनीबाट बस पूर्णरूपले जलेर नष्ट भएको छ । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए ।

इटहरी –१२ स्थित रिलाईन्स मिल अगाडि कोशी लोकमार्गमा इटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको सो बसले साइकल यात्री इटहरी–१० बस्ने श्यामनारायण यादवकी छोरी १३ वर्षीया सम्झना यादवलाई ठक्कर दिएको थियो । इटहरी– ९ स्थित जनता माध्यमिक विद्यालयमा ९ कक्षामा पढ्ने सम्झनाको घटनास्थलमै मृत्यु भएको थियो । ।