झापा ।  

झापा भद्रपुर नगरपालिका वडा नम्बर ३ झोलुङ्गे पुलबाट प्रतिबन्धित लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी र प्रहरी चौकी मेचीपारीबाट खटीएको संयुक्त प्रहरी टोलीले आज (आइतवार) ब्राउन सुगरसहित एक जनालाई नियन्त्रणमा लिएको हो । 

 भारतबाट नेपालतर्फ आउँदै गरेका भद्रपुर–३ का २७ बर्षिय विनायक थुलुङ राईलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिइएको हो । 

उनले लगाएको जिन्सको हाफ पाइन्टको दाहिने साइडको गोजीमा  प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको ब्राउन सुगर प्लाष्टिक बाहेक ३ ग्राम ९१० मिलिग्राम  फेला परेको थियो । उक्त लागूऔषधका साथमा नियन्त्रणमा लिइएको राईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।