झापा ।
मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा भएको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानका क्रममा दुई सय ३६ सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार कार्य गरिएको छ ।
उद्धार हुनेहरुमा एक सय ७९ जना पुरुष र ५७ महिलामध्ये पाँच बालिका र चार बालक रहेको मानवसेवा आश्रमद्वारा आज (शुक्रबार) जारी विज्ञप्तिमा जनाइएको छ ।
उद्धार गरिएकाहरुमा कोसी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी कूल ४४ जना, मधेस प्रदेशबाट २९ पुरुष र ११ महिला गरी कूल ४० जना, बागमती प्रदेशबाट ४० पुरुष र १७ महिला गरी कूल ५७ जना, गण्डकी प्रदेशबाट २७ पुरुष र आठ महिला गरी कूल ३५ जना, लुम्बिनी प्रदेशबाट ४० पुरुष र नौ महिला गरी कूल ४९ जना, कर्णाली प्रदेशबाट दुई पुरुष र एक महिला गरी कूल तीन जना र सुदूरपश्चिम प्रदेशबाट छ पुरुष र दुई महिला गरी कूल आठ जना रहेका छन् ।
उद्धार कार्य गत असोज २८ गते झापाको मेची पुलबाट सुरु गरिएको थियो । यस राष्ट्रिय उद्धार टोलीले देशका सातैवटा प्रदेशका ४४ जिल्लामा पुगेर सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धारमा सहभागी भएका थिए ।
उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका संस्थापक÷केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायत ४७ जनाको सहभागिता रहेको थियो । ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ को सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोराको थियो ।