चारआली ।
झापा मेचीनगर नगरपालिका–१ का राजन चिमरियाले तीन सय बिपन्न परिवारलाई निःशुल्क धारा जडान गरिदिने संकल्प गर्दै चुनावी मैदानमा उत्रेका छन् ।
चारआली साना शहरी तथा खानेपानी सरसफाई संस्थाको आसन्न निर्वाचनमा साझा प्यानलको तर्फबाट अध्यक्षका प्रत्यासी चिमरियाले बिजयपछि तीन वर्षमा तीन सय बिपन्न परिवारका घरमा निःशुल्क धारा बितरण गरिदिने अठोट गरेका हुन् ।
संस्थाको आगामी मङ्सिर १ गते निर्वाचनका लागि प्रतिबद्धतासहित मत माग्दै घरदैलो अभियानमा मैदानमा उत्रेका चिमरियाले उक्त संकल्प गरेका हुन् ।
आर्थिक रुपमा सबल हुने वर्गले शुद्ध पिउँने पानी उपभोग गर्ने र कमजोर आयश्रोत भएका बिपन्न परिवारका सदस्यको आर्थिकसँगै र स्वास्थ्योवस्था पनि कमजोर हुने भएकाले निःशुल्क सेवा दिने भएको बताए ।
समाजका हरेक वर्गलाई विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आएका अध्यक्षका प्रत्यासी उम्मेद्वार चिमरियाले गरीबीका कारण कोही पनि शुद्ध पिउँने पानी उपभोग गर्न बन्चित हुन नपरोस् भन्नका लागि सबैको पहुँच र सर्वसुलभ मूल्यदर पनि लागू गर्ने बताए ।
साझा उम्मेद्वार समुहले संस्थामा हुने बेतिथी र बिसंगतिविरुद्ध लाग्दै नराम्रा कुनैपनि गतिविधि नगर्ने बताए । आर्थिक हिसाबकिताबलाई पार्दशी बनाउने, थप बोरिङ निर्माणका लागि आवश्यक जग्गाको ब्यवस्थापन गर्ने, आयोजना क्षेत्रभित्र पाइपलाईन बिस्तार गरी धारा जडान गर्न सहजीकरण गर्ने, साना सहरीमात्रै होइन कृषिमा आयआर्जन वृद्धिका लागि ब्यवस्थापन गर्ने, निर्माणाधीन अलपत्र आयोजना पूरा गर्ने, सरसफाई सम्बन्धी छुट्टै योजना कार्यक्रम ल्याउनेलगायतका १९ बुदे प्रतिबद्धताहरु सार्वजनिक गरेको छ ।