चारपाने। 

वीरता जेसीजले आफ्ना  सदस्य अरुण जैसवालको जन्मोत्सवमा आज मंगलबार  बिर्तामोड २ स्थित आदिवासी समुदायका विपन्न दुई जना वृद्धा तथा नेत्रहीन महिलालाई खाद्यान्न लगायतका सामग्री सहयोग प्रदान गरेको छ । 

नेत्रहीन धामोसरी राजवंशी र वृद्धा फागोसरी राजवंशीलाई उनीहरुको निवासमै पुगेर वीरता जेसीजले सामग्री हस्तान्तरण गरेको हो । वीरता जेसीजका अध्यक्ष विकास बस्नेतको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं जेसीजका पूर्व अध्यक्ष एकराज गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।  जेसीजले नेत्रहीन धामोसरीलाई रेडियोसमेत प्रदान गरेको छ । 

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य सर्मिला राजवंशी, नेपाल जेसीजका उपाध्यक्ष घनश्याम चौधरी, पूर्व अध्यक्ष विशाल थापा लगायतको आतिथ्य थियो । महासचिव सुमन पोद्धारले सञ्चालन र कार्यक्रम संयोजक अरुण जैसवालले कार्यक्रममाथि प्रकाश पारेका थिए भने जेसीजका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता थियो । 

विपन्न त्यसमा पनि नेत्रहीन र वृद्धा आमाहरुलाई सहयोग गर्न पाएकोमा जेसीज अध्यक्ष बस्नेतले कृतज्ञता ज्ञापन गरे । जेसीजको माध्यमबाट जन्मोत्सवमा पुण्य कर्म गर्न पाएकोमा जैसवालले आफू धन्य भएको बताए । 

सहयोग पाएर दुवै जना हर्षित हुँदै धन्यवाद ज्ञापन गरे । पुण्यका लागि मन्दिर जानू भन्दा दीनदुःखीहरुको सेवा र सहयोग गर्नु  ठूलो धर्म हुने सहभागीहरुले बताए । उपस्थित स्थानीयबासीले जेसीजको  परोपकारी कार्य  अनुकरणीय भएको बताए ।