काठमाडौं । 

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत सोमबार १३ जनाको उद्धार गरिएको छ । उद्धार यात्राका क्रममा सोमबार काठमाडौं महानगरपालिका विभिन्न वडाबाट १२ जना र चन्द्रागिरि नगरपालिकाबाट १ जना गरि १२ जना सडकआश्रित मानवहरु उद्धार गरिएको हो । सोमबार  उद्धार भएका ८ जना पुरुष र ५ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा आजै गृह प्रवेश गराइएको छ ।

असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २९ औँ दिन काठमाडौँमा आइपुग्दा २ सय ३१ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए  । उद्धार भएका १ सय ७७ जना पुरुष र ५४ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।

यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।

राष्ट्रिय उद्धार टोली सोमबार काठमाडौंका सडकपेटी तथा सार्वजनिक स्थानमा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली  मंगलबार काठमाडौं र भक्तपुर क्षेत्रमा रहेका सडकआश्रित मानवहरुको उद्धार तथा सेवामा रहनेछ । 

उद्धार यात्रामा वरिष्ठ गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीसहित ४७ जना यात्रीहरूको सहभागिता रहेको छ ।

मानवसेवा आश्रमले सातै प्रदेशका १९ वटा जिल्लामा २५ वटा सेवाकेन्द्र विस्तार गर्दै सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार, उपचार, संरक्षण तथा सुन्दर पारिवारिक पुनर्मिलन गराउदै विगत १२ वर्षदेखि मानवीयता प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको गैरनाफामूलक सामाजिक संस्था हो ।