झापा । 

क्रसर व्यवसायीहरुको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको वार्षिक साधारण सभा र राष्ट्रिय महाधिवेशन आगामी  कात्तिक ३० गते महोत्तरीको बर्दिबासमा हुने भएको छ ।

सधारण सभा तथा महाधिवेशन कात्तिक ३० र मंसिर १ गते बर्दिबासमा हुन लागेको हो । दुई दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका सह–सचिव मिनबहादुर शाहीले जानकारी दिएका छन् ।

२०७० सालमा स्थापना भएको महासंघको कार्यसमिति २१ सदस्यीय हुने विधानमा व्यवस्था छ । कार्यकाल तीन वर्षको हुन्छ । २०७७ माघ २० गते बुटवलमा महाधिवेशनबाट सिताराम न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति चुनिएको थियो ।

सधारणा सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । बर्दिबासको साधारण सभा र महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको महासंघले जनाएको छ । देशभरका क्रसर, बालुवा र खानी उद्योगी व्यवसायीहरूलाई एकताबद्ध गर्ने र आफ्ना हकहितका लागि पहल गर्ने उद्देश्यले महासंघ स्थापना गरिएको थियो ।

विगतमा दर्ता भएका तथा हाल नवीकरण नभएका खानी तथा क्रसर उद्योगहरुको नियमसम्मत ढंगले नवीकरण गराउने लगायतका मुख्य मागसहितका नीति तथा कार्यक्रम र भावी योजना महाधिवेशनमार्फत् तयार पार्ने महासंघले जनाएको छ । सधारणसभा तथा महाधिवेशनको उदघाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबाट गराउने महासंघको तयारी छ ।