काठमाडौँ ।
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार ६ जनाको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा सुरु भएको हो ।
उद्धार यात्राका क्रममा शनिबार काठमाडौँ महानगरपालिका विभिन्न वडाबाट ४ जना, बुढानिलकण्ठ नगरपालिका–४ बाट १ जना र कागेश्वरी मनोहरा नगरपालिका– ६ बाट १ जना गरि ६ जना सडकआश्रित मानवहरु उद्धार गरिएको हो ।
शनिबार विभिन्न ठाउँबाट उद्धार हुनुभएका ५ जना पुरुष र १ जना महिलालाई मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रमा संरक्षणमा गृहप्रवेश गराइएको छ ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि सुरु भएको यात्रा २७ औँ दिन काठमाडौँमा आइपुग्दा १९५ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार भएका १५१ जना पुरुष र ४४ जना महिलाको सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
राष्ट्रिय उद्धार टोली शनिबार काठमाडौँमा सडकपेटी तथा सार्वजनिक स्थानमा रहनुभएका सहयोगापेक्षी मानवहरुको उद्धार सेवामा खटिएको हो । साथै मेची–महाकाली राष्ट्रिय उद्धार टोली आइतबार पनि काठमाडौँ उपत्यकाको उद्धार तथा सेवामा खटिनेछ ।