बिर्तामोड ।
झापाको बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीका पीडित परिवारलाई बिर्तामोड नगरपालिका ८ नं वडा कार्यालयले राहत वितरण गरेको छ । आज बिहान पीडतकै घरमा पुगेर वडाध्यक्ष अजय कार्की , वडा सदस्यहरु अग्निप्रसाद सिटौला, इन्दिरा पाण्डे, सोयालाल राजवंशी, लक्ष्मी नेपालीलगायतले ग्यास चुल्हो , खाद्यान्न, भाडावर्तनलगायत गरी २१ हजार ४०० रुपैयाँ बराबरको राहत वितरण गरेका हुन् ।
अग्नीपीडित शिवलाल गौतमको परिवारलाई वडाका जनप्रतिनिधिहरुले राहत सामग्री हस्तान्तरण गरेका थिए । सो आगलागीबाट करिव १० लाखको क्षति भएको छ ।गएराति ८.३० बजे गौतमको घरसँगै रहेको सिमेन्टको गारो, टिनको छानो भएको भान्सा कोठामा अचानक आगलागी भएको थियो ।
आगलागीबाट भान्सा पूर्ण रुपमा जलेर नष्ट हुँदा त्यसभित्र रहेका २ वटा ग्यास सिलिण्डर पड्किएको थियो । आगलागीबाट एउटा ग्यास चुलो, अन्य भाडाबर्तन,अन्नपात, एउटा स्कुटर र घरको दक्षिण साइडको बरण्डाको भाग समेत जलेर क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा छिमेकी मोहन तिमल्सिना घाइते भएका थिए ।
उनलाई स्थानीय मेडिकलमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ । स्थानीय र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा राति ९ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।