बिर्तामोड ।
पाथिभरा छठ पूजा समितिले यस बर्ष पनि छठ पूजाको भव्य तयारी सम्पन्न गरेको छ । प्रत्येक बर्ष झापाको बिर्तामोड–१ पाथिभरा टोलस्थित धिमाल बस्तीमा आयोजना गरिने छठ पूजाको यस बर्ष सम्पूर्ण तयारी पूरा गरेको हो ।
छठ पूजाको मुख्य दिन आज (बिहीवार) बिभिन्न सांस्कृतिक कार्यक्रमको तयारी गरिएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद शाहले जानकारी दिए । यसैगरी आज राति छठ सम्बन्धी भजनकिर्तन गरिने छ भने रातभर जाग्राम बसिनेछ । भोली बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै छठ पूजा सम्पन्न हुनेछ ।
छठ पूजाका लागि ६० वटा पन्डाल अर्थात एकसय २० परिवारले पूजा गर्न सकिने गरी घाटहरु निर्माण गरिएको अध्यक्ष शाहले बताए । उनका अनुसार आर्थिक अवस्था कमजोर भएका ब्रतालुहरुलाई निःशुल्क ठाउँ उपलब्ध गराइनेछ ।
पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद शाहको अध्यक्षतामा आज हुने उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे रहने पाथिभरा छठ पूजा समितिका सल्लाहकार जीवन शाहले जानकारी दिए ।
कार्यक्रममा एमिटी एजुकेशन फाण्डशेनका प्रिन्सिपल राधेश्याम शर्मा ढकाल, न्यूटन्स एजुकेशन फाण्डेशनका प्रिन्सिपल देबेन्द्र हुँमागाई, बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, ब्यवसायी राजन थापालगायतलाई आतिथ्यका लागि निमन्त्रणा गरिएको जीवनले बताएका छन् ।
अध्यक्ष शाहका अनुसार उद्घाटन कार्यक्रममा स्वागत समितिका सदस्य सुरेश गुप्ताले गर्नेछन् भने सञ्चालन सल्लाहकार बालकृष्ण दाहालले गर्नेछन् । अध्यक्ष शाहले स्थानीय ठाउँमा पूजा गर्दा सो स्थानको सरसफाई हुने भएकाले साथै त्यहाँका ब्रतालु तथा भक्तजनहरुको सल्लाह अनुसार नै उक्त स्थानमा छठ पूजा आयोजना गरिएको बताए ।