झापा । 

बालकलाई मोटरसाइकलले ठक्कर दिई फरार रहेका मोटरसाइकल चालक पक्राउ परेका छन् । सोमवार बिहान अन्दाजी १०ः४० बजेको समयमा झापाको कनकाई नगरपालिका वडा नम्बर ५ तल्लो चप्रामारीमा ७ बर्षिय बालक सोहन पाठकलाई ठक्कर दिई दुर्घटना गराएर फरार रहेका कनकाई–५ मुस्लिम टोलका २३ बर्षिय  अजत मिया पक्राउ परेका हुन् । 

सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको मे ११ प ३३८ नम्बरको मोटर साईकलले बाटो क्रस गर्दै गरेका कनकाई–५ तल्लो चप्रामारीका बिनोद पाठकको छोरा सोहनलाई बाटो क्रस गर्दै गरेको समयमा ठक्कर दिएको थियो । 

बालक सोहनलाई ठक्कर दिई दुर्घटना भएको भन्ने जानकारी हिजो ११ः०० बजे इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्राप्त हुन साथ प्रहरी टोली गएर घाईतेलाई उपचारको लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाई चेकजाँच गराउँदा डाक्टरले मृत्यु घोषणा गरेका थिए । 

 मोटर साइकल चालक अजत मिया तत्काल फरार रहेका थिए । उनको खोजतलासमा खटिएको प्रहरी टोलीले थप अनुसन्धान तथा फरार चालकको खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।  मोटर साईकल चालक र मोटर साईकल इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेको सो सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।