झापा । 

तिहारको दोस्रो दिन अर्थात अर्थात बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ। त्यसपछि औँसी लाग्छ। लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले बिहीबार नै लक्ष्मीपूजा परेको हो ।

 शुक्रबार साँझ औँसी पूरा भई सक्छ। शुक्रबार औँसी तिथि २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म रहेको समितिले जनाएको छ । तिहारमा सम्मान गर्ने परम्पराअनुरूप कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गर्ने परम्परा छ। 

औँसीको साँझमा दीपावलीसहित धनकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। यसलाई तिहारको सबैभन्दा महत्त्वपूर्ण दिन पनि मानिन्छ। सफासुग्घर र उज्यालो भएका ठाउँमा लक्ष्मीको प्रवेश हुने विश्वास अनुरूप घर आँगन, कोठाचोटा सफासुग्घर पारी, लिपपोत गरिन्छ। यस्तै ढोका र झ्यालमा फूलका माला र मन्दिर तथा नदीमा तोरण टाँग्ने चलन पनि रहि आएको छ।

साँझ भएपछि आँगनदेखि पूजास्थलसम्म लक्ष्मीको पाइला बनाई दीपावली गरिन्छ। दीप–कलश–गणेशको पूजा गरी धनका देवता कुवेरसहित समृद्धिकी देवी लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मीलाई प्रसन्न पार्न श्रीसुक्त पाठ गरिन्छ। यो दिन विधिपूर्वक पूजा गर्नाले लक्ष्मी खुशी भई धनधान्यले युक्त हुने, समृद्धि प्राप्त हुने पुराणमा उल्लेख भएको ज्ञाताहरुको भनाई छ ।