बिराटनगर।
साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रमप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ ।
आज (बुधवार) कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अतिथि खापुङले पुरस्कार कोषका संस्थापक डा. श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा कोषका संस्थापक श्रेष्ठले ‘साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार’ बाट पुरस्कृत हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई चेक हस्तान्तरण समेत गरिएको थियो ।
‘साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार’ सुनसरीको धरान निवासी स्वर्गीय साधना देवी श्रेष्ठको नामबाट उनको छोरा डा. बिक्रमप्रसाद श्रेष्ठ र तत्कालिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर विच २०७१ सालको प्रहरी दिवसबाट पुरस्कार प्रदान गर्ने र प्रत्येक ५÷५ बर्षमा दुबै पक्ष बीच पुनः सम्झौता नबिकरण गर्ने सहमति अनुसार आज सम्झौता नविकरण भएको हो ।
उक्त पुरस्कार कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरुबाट आफ्नो कार्यक्षेत्रमा देखाएको बहादुरीता, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी प्रदान गरिने गरेको छ ।