झापा । 

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज मनाइँदैछ । बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर आज काग तिहार मनाइदै छ । 

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।

काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।  कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको धर्मशास्त्रविद्हरुको भनाई छ ।  

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गाँसिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीपदान गर्ने क्रम पनि आज बुधबार साँझदेखि नै सुरु गरिँदैछ । यम दीपदान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन शास्त्रीय विधि रहेको छ । 

 यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक मङ्गलबार बेलुकीदेखि नै सुरु भएको हो । यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि मङ्गलबार नै मनाइएको छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ । यस दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी नामले पनि चिनिन्छ ।