लमही ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले मेची–महाकाली राष्ट्रिय उद्धार टोलीका यात्रीहरुलाई स्वागत गरेका छन् । आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै मेची–महाकाली उद्धार टोलीलाई स्वागत गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले टोलीलाई स्वागत गरेका हुन् । आचार्यले मानव मानवसेवा आश्रमले गरेको कामको प्रसंशा गर्दै कार्यक्रममा आश्रमले गरेको गतिविधिको भिडियो हेरेर आफू स्तब्ध र थप गम्भीर बनेको बताए।
कार्यक्रममा बोल्दै उनले राज्यले गर्नुपर्ने काम आश्रमले गरेको बताउँदै आगामी दिनहरुमा आश्रमसँग साझेदारी गरि अगाडि बढ्ने र आश्रमका लागि बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गरे । साथै लुम्बिनी प्रदेशलाई पनि सडकआश्रित मानवमुक्त प्रदेश बनाउन लुम्बिनी प्रदेश सरकार मानवसेवा आश्रमसँग सँगै सहकार्य र सहयोग गर्न तत्पर रहेको बताए।
त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत यात्राको १४ औँ दिन आइतबार ४ जना सडकआश्रित मानवहरुको उद्धार गरेको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा तय भएको हो । राष्ट्रिय उद्धार यात्राका क्रममा लमही नगरपालिका–५ बाट ३ जना र राप्ती गाउँपालिकाबाट १ जना गरि ४ जनाको उद्धार गरिएको हो ।
असोज २८ गतेबाट झापाको मेचीनगरदेखि थालनी भएको यात्राको १४ औँ दिनसम्मको अवधिसम्मपुग्दा १३० जना सडकआश्रित मानवहरुको उद्धार गरिएको मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । उद्धार गरिएका १०१ जना पुरुष र २९ जना महिलाको सङ्ख्या मध्ये २ बालिका र १ जना बालक पनि रहेका छन् ।
आइतबार उद्धार गरिएका ४ जनालाई मानवसेवा आश्रम तुलसीपुर सेवाकेन्द्रमा गृहप्रवेश गराइएको छ । साथै उद्धार टोली सोमबार दाङको घोराही र तुलसीपुर क्षेत्रमा सडकसेवा सम्पन्न गरि सोमबार नै यात्रीहरु नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको छ ।