बिर्तामोड ।

झापाको बिर्तामोडस्थित हिकोला रोडलाई एकतर्फी बनाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र बिर्तामोड नगरपालिका वडा नम्वर ५ संग सहकार्य गर्दै बिर्तामोड उद्योग बाणिज्य संघ बिर्तामोडको अगुवाइमा हिकोला रोड एक तर्फी बनाइएको हो ।

 बिर्तामोड बजार क्षेत्रमा दिनानुदिन भीडभाड बढ्दै जान थालेसँगै सहजताका लागि हिकोला रोडलाई एकतर्फी बनाइएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गणेश पौडेल, बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाई, विभिन्न सामाजिक संघ संस्थाको अगुवाईमा आइतवार विहानबाट हिकाला रोड एकतर्फी बनाइएको हो ।

यस अघि बिर्तामोड उद्योग वाणिज्य संघको सभा हलमा उक्त रोडलाई एक तर्फी बनाउने विषयमा छलफल भएको थियो । छलफलपछि गरिएको निर्णय अनुसार काँकरभिट्टा रोडबाट कृषिथोक जाने हिकोला रोडमा सवारी साधन एकतर्फी (दक्षिणबाट उत्तर) मात्र सञ्चालन गर्न पाइनेछ ।

त्यस्तै, हिकोला रोडमा प्रत्येक महिनाको १५ गतेसम्म सडकको पूर्वतर्फ र १६ गतेबाट मसान्तसम्म पश्चिमतर्फ दुईपाङ्ग्रे मात्र पार्किङ गर्न पाइने भएको छ । हिकोला रोडमा सामग्रीहरु लोड अनलोड गर्ने ठूला सवारी साधनलाई बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म प्रवेश निषेध गर्ने र शनिश्चरे रोड ग्लोबल आइएमइ बैंक हुँदै कृषि थोक चोक (चौबाटो) सडक क्षेत्रमा पार्किङ निषेध गर्ने निर्णय भएको संघका अध्यक्ष न्यौपानेले बताए ।

योसंगै हिकोला रोड एकतर्फी बनाइएसंगै लायन्स क्लव अफ बिर्तामोड सिटीले २० वटा साङ्केतिक वोर्ड प्रदान गरेको छ । लायन्स क्लवका अध्यक्ष उपेन्द्र वानियाले साङ्केतिक बोर्ड प्रदान गरेका थिए ।

वोर्ड हस्तान्तरण कार्यक्रममा बिर्तामोड उद्योग वणिज्य संघका अध्यक्ष राजु न्यौपाने, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, लायन्स क्लवका अध्यक्ष उपेन्द्र बानिया लगायतले बोलेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्ट लगाायतले सडकलाई एक तर्फी बनाएसंगै भीडभाड कन्ट्रोल गर्न सहज हुने बताएका छन् ।  कार्यक्रमको संचालन बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले गरेका थिए ।