झापा। 

बर्षाले फूलखेतीमा क्षति पुर्‍याएपछि यस बर्षको तिहारमा सयपत्री फूलको मूल्य बढ्ने भएको छ ।  गत असोज ११ र १२ गते परेको अविरल वर्षाले फूलखेतीमा समेत क्षति पुर्‍याएको थियो ।  फुल्न थालिसकेको फूल वर्षाकै कारण नोक्सान भएपछि तिहारमा भारतबाट १५ लाख माला आयात गर्ने तयारी रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । 

गत वर्ष ६५ देखि ७० रुपैयाँ सम्म एउटा मालालाई परेको भएपनि यस वर्ष प्रतिगोटा ८० देखि ८५ सम्म होलसेल मूल्य पर्ने बताइएको छ  । अविरल वर्षाले कारण करिब  १५ करोड रुपैयाँको फूल नोक्सान भएको थियो ।  

फ्लोरिकल्चर एसोसिएसन अनुसार बजार मागअनुरुपनै गत वर्षको तुलनामा यस वर्ष सात लाख बढी सयपत्री फूल मालाको  माग छ । गत वर्षको तिहारमा ३३ लाख माला खपत भएको थियो । बजार मागको ६० प्रतिशत फूल काठमाडौँ उपत्यकामा प्रयोग हुने गरेको छ  । 

यस वर्षको तिहारका लागि ४० लाख सयपत्री फूलमालाको बजार माग रहेको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार यस वर्षको तिहारमा बजार माग ४० लाख मालाको रहेको र स्वदेशी उत्पादन २५ लाख माला मात्र रहेकाले यस वर्षको तिहारमा १५ लाख सयपत्री माला भारतबाट आयात गर्न लागिएको हो ।  

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् । ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् ।